नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय राजकुमार गुप्ताज्यूलाई प्रतिष्ठानमा स्वागत

नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री एवम् नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको गभर्निंग काउन्सिलका अध्यक्ष माननीय राजकुमार गुप्ताको सम्मानमा मिति २०८१/४/४ गते प्रतिष्ठानमा एक स्वागत कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनाल, उपकार्यकारी निर्देशक श्री विष्णुप्रसाद लम्साल, वरिष्ठ निर्देशकहरू र सकल कर्मचारीजनको उपस्थिति रहेको थियो । नवनियुक्त मन्त्रीज्यूलाई स्वागत एवम् बधाई ज्ञापन गर्दै कार्यकारी निर्देशक डा. राजन खनालले प्रशिक्षण परिषदका अध्यक्षका रूपमा उहाँको भूमिका र प्राज्ञिक उन्नयन एवम् प्रतिष्ठानको संस्थागत विकासमा भएका प्रयासहरूका सम्बन्धमा जानकारी गराउनु भयो । साथै, प्रतिष्ठानमा संचालन हुने वरिष्ठ कार्यकारी विकास कार्यक्रम र अन्य प्रशिक्षण कार्यक्रमहरूमा समेत उहाँको हौसलापूर्ण उपस्थिति र अनुभव आदानप्रदानको सदैव अपेक्षा रहने बताउनुभयो । कार्यक्रममा वरिष्ठ अध्ययन निर्देशक श्री वसन्तराज सिग्देलले माननीय मन्त्रीज्यूसमक्ष प्रतिष्ठानको चिनारी, रणनीतिहरू, मुख्य कार्यक्रमहरू र संस्थागत गतिविधिहरूको बारेमा प्रस्तुति गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय राजकुमार गुप्ताज्यूले प्रतिष्ठानले उत्कृष्ट ढंगले कार्यसम्पादन गर्दै अघि बढिरहेको र शून्य बेरुजु कायम गरी वित्तीय अनुशासनको नमुना संस्था बन्न सफल भएको जानकारी पाउँदा अत्यन्त खुशी लागेको बताउनुभयो । साथै, उहाँले प्रतिष्ठानको आवासीय पूर्वाधार विकास परियोजनाका लागि जग्गा भोगाधिकार लिने प्रक्रियामा आफूले दृढताका साथ सहजीकरण गर्ने र प्रतिष्ठानको संस्थागत विकास प्रक्रियामा कुनै नीतिगत वा अन्य समस्या रहेको भए तत्काल समाधान गर्नका लागि क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको अन्त्यमा कार्यकारी निर्देशक डा. राजन खनालले व्यस्तताका बाबजूद माननीय मन्त्रीज्यूले प्रतिष्ठानलाई दिनुभएको समय, विचार र प्रतिवद्धताका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।