आज मिति २०७८।०९।०९ गते शुक्रबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले नेपाल सरकारका सचिव तथा विशिष्ठ श्रेणीका अधिकृतहरुका लागि Service Innovation And Contract Administration विषयक कार्यशाला गोष्ठीको आयोजना गर्यो । उक्त कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका माननीय मन्त्री श्री राजेन्द्रप्रसाद श्रेष्ठले गर्नुभयो भने सोको अध्यक्षता नेपाल सरकारका मुख्य सचिव श्री शंकरदास बैरागीले गर्नुभयो । कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल सरकारका पूर्व सचिव डा. राजन खनालले कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्नुभयो ।
प्रमुख अतिथि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका माननीय मन्त्रीले प्रशासन यन्त्रलाई चुस्त दुरुस्त राख्न सबै प्रशासकहरुलाई आग्रह गर्नुभयो । वँहाले यस कार्यक्रमको छलफलबाट प्राप्त सूझावहरुलाई सरकारले ब्यवहारमा ल्याउने प्रतिबद्दता ब्यक्त गर्दै आउँदैगरेको संघीय निजामती ऐनलाई संघीयता र कर्मचारी मैत्री बनाउन सरकार लागीपरेको ब्यहोरा उल्लेख गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका नेपाल सरकारका मुख्य सचिव श्री शंकरदास बैरागीले सहभागीहरुलाई सकृयताकासाथ ठोस परिणाम निकाल्नेगरि बिचार विमर्श गर्न आग्रह गर्नुभयो । वँहाले जन अपेक्षा अनुरुप सेवा प्रवाह गर्न नव-प्रवर्तनकारी भूमिका खेली सरकार र जनताको बिश्वास आर्जन गर्न समग्र प्रशासन यन्त्र सक्षम हुनुपर्ने धारणा ब्यक्त गर्दै गोष्ठीको सफलताको कामना गर्नुभयो ।
उक्त कार्यशाला गोष्ठीको मुख्य उद्देश्य सार्वजनिक सेवा सुधारको दृष्टिकोण निर्माण गर्ने साथै खरिद र ठेक्का प्रशासन (Procurement and Contract Administration) का मुख्य मुद्दाहरूलाई सम्बोधन गर्ने रहेको छ जसमा दुईवटा विषयगत कार्यपत्रहरूमा छलफल गरियो । पहिलो कार्यपत्रमा सार्वजनिक सेवामा नवप्रवर्तनशिलता: प्रणालीगत सोचको दृष्टिकोण बिषयमा छलफल भयो । सो कार्यपत्रले सार्वजनिक सेवा सुधार को पारिस्थितिका प्रणालीको बारेमा प्रकाश पार्दै सार्वजनिक सेवामा सुधार असफल हुनुका कारणहरू र यसले जनतामा पार्ने वृहत् प्रभावलाई विश्लेषण गर्ने प्रयास गरेको छ। साथै, यसले सेवा सुधारका विभिन्न आयामहरू र परिवर्तनशील प्रतिमानहरूको व्याख्या गरेको छ र सार्वजनिक सेवा सुधारहरूको डिजाइन र कार्यान्वयनमा निजामती सेवा नेतृत्वको भूमिकाको महत्त्वलाई पनि प्रकास पारेको छ। प्रणालीगत सोचको दृष्टिकोणलाई थप व्याख्या गर्दै, सार्वजनिक क्षेत्रमा सेवा सुधारका लागि यो रणनीतिलाई एक विश्वसनीय विधिका रूपमा समावेश गर्न सिफारिस गरेको छ। यो कार्यपत्रले सैद्धान्तिक तर्क मात्र नभई नेपालको सार्वजनिक क्षेत्रबाट भएका व्यावहारिक उदाहरण र प्रमाणहरू पनि समावेश गरेको छ। पहिलो कार्यपत्र प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले प्रस्तुत गर्नुभयो भने सो सम्बन्धमा यातायात व्यवस्था विभागका महानिर्देशक श्री नमराज घिमिरे र वैदेशिक रोजगार विभागका महानिर्देशक श्री दिपक काफ्लेले आफ्नो अनुभव राख्नुभयो । यस पहिलो सत्रको अध्यक्षता नेपाल सरकारका मुख्य सचिव श्री शंकरदास बैरागीले गर्नुभएको थियो भने प्रतिष्ठानका उप-कार्यकारी निर्देशक श्री बिष्णु प्रशाद लम्सालले सत्रको सहजीकरण गर्नुभएको थियो ।
दोस्रो कार्यपत्रमा सार्वजनिक खरिद र ठेक्का प्रशासन सम्बन्धी बिषय प्रस्तुत गरियो जसले नेपालमा खरिद र ठेक्का प्रशासनका प्रमुख मुद्दाहरूमा प्रकाश पारेको छ। विभिन्न खण्डमा सङ्गठित यस पत्रमा सार्वजनिक खरिद र ठेक्का प्रशासनका विभिन्न आयामहरूको खोजी र विश्लेषण, सार्वजनिक खरिदको र सार्वजनिक वित्तीय व्यवस्थापनको बृहत्तर क्षेत्रसँगको सम्बन्ध, खरिद चक्र र खरिद योजना, मूल्याङ्कन र ठेक्का प्रशासनका पक्षहरू, खरिद र ठेक्का व्यवस्थापनका समस्या र चुनौतीहरूलाई प्रकाश पारिएको छ । यस कार्यपत्रले खरिद र ठेक्का प्रशासनमा विद्यमान कानुनी प्रावधानहरूको गहन विश्लेषण र यस क्षेत्रमा देखा परेका वास्तविक जीवनका मुद्दाहरूबाट समावेश भएको छ। यस कार्यपत्रमा अनलाइन अनुगमन संयन्त्रको विकास र कार्यान्वयन भएमा, सम्झौता कागजातहरूको सर्त र कार्य-योजना पालना गर्न र जिम्मेवार निकायलाई जवाफदेही बनाउँदै अधिकांश समस्या र चुनौतीहरू समाधान गर्न सकिन्छ भन्ने आशावादी निष्कर्ष निकालिएको छ । दोश्रो कार्यपत्र नेपाल सरकारका पूर्व सचिव श्री सुरेश प्रधानले प्रस्तुत गर्नुभयो भने सो सम्बन्धमा पूर्व सचिव श्री किशोर थापा र सडक बिभागका पूर्व महानिर्देशक श्री केशव कुमार शर्माले आफ्नो अनुभव राख्नुभयो । यसको अध्यक्षता नेपाल सरकारका सचिव श्री शिशिर कुमार ढुंगानाले गर्नुभएको थियो भने प्रतिष्ठानका बरिष्ठ अध्ययन निर्देशक श्री आनन्द राज ढकालले सत्रको सहजीकरण गर्नुभएको थियो ।
अन्त्यमा यस कार्यक्रमका अध्यक्ष एवं मुख्य सचिव श्री शंकरदास बैरागीले समापन मन्तव्य राख्दै कार्यशाला गोष्ठीको छलफलबाट प्राप्त सुझावहरुलाई आ-आफ्नो कार्यक्षेत्रमा कार्यान्वयनमा ल्याउन विशिष्ठ श्रेणीका अधिकृतहरुलाई आग्रह गर्नुभयो । उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले सबै सहभागीहरुलाई वहाँहरुको उपस्थिति र सकृय सहभागीताका लागि धन्यबाद ज्ञापन गर्नुभयो ।