नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको पुनर्निर्मित मुख्य भवन (सम्पदा सदन) को आज एक समारोहका बीच प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले समुद्घाटन गर्नुभयो । समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव श्री अर्जुनप्रसाद पोखरेल, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक श्री सुरेन्द्र मोहन श्रेष्ठ, केन्द्रीय आयोजना कार्यान्वयन इकाइका परियोजना प्रमुख कोषनाथ अधिकारी, निर्देशक श्री प्रभाकरलाल कर्ण र निर्माणकर्ता कम्पनीका प्रतिनिधि श्री रमेश अवाले लगायत प्रतिष्ठानका उच्च अधिकृत एवम् कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
जावलाखेल, ललितपुरमा अवस्थित देशको ऐतिहासिक सम्पदा र प्रतिष्ठानको भौतिक चिनारीको रूपमा समेत रहेको सम्पदा सदन वि.सं. २०७२ साल बैशाख १२ गतेको विनाशकारी भुकम्पबाट क्षतिग्रस्त भएको थियो । पुरातत्व विभागको स्वीकृति लिई भवनको बाहिरी स्वरूप जस्ताको तस्तै रहने गरी पुनर्निमाण गरिएको यस भवनभित्र प्रशिक्षण लगायतका कार्यक्रम संचालन गर्नका लागि सुविधासम्पन्न १०० जना र ८० जना क्षमताका २ वटा कन्फरेन्स हलहरू, ३० देखि ४० जना क्षमताको ४ वटा प्रशिक्षण हलहरू, १ भीआइपी कक्ष, ४ वटा सिन्डिकेट कक्ष र एक प्रशासनिक कक्ष रहेका छन् । भवनको संरचना फरक क्षमताका व्यक्तिहरूकालागि समेत उपयोगी हुने गरी निर्माण गरिएको छ । समुद्घाटन समारोहमा केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजना प्रमुख श्री कोषनाथ अधिकारी र प्रतिष्ठानका अध्ययन निर्देशक श्री सुन्दर श्रेष्ठले भवन हस्तान्तरण पत्रमा हस्ताक्षर गर्नुभयो ।
समुद्घाटन मन्तव्यका क्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले सम्पदा सदन पुनः निर्माणकार्यमा महत्वपूर्ण भूमिका र सहयोग गर्नहुने भवन निर्माण कम्पनी, साविकको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, मन्त्रालयका सचिव, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक लगायत नेपाल सरकारका निकायहरू र प्रतिष्ठानका कर्मचारीहरूप्रति आभार प्रकट गर्नुभयो । नव शास्त्रीय शैलीमा आधुनिक सुविधा सहित पुनः निर्माण गरिएको यस भवनले प्रशिक्षण लगायतका कार्यक्रमहरूको आवश्यकता पुरा गर्ने विचार व्यक्त गर्नुभयो । साथै, बाँकी रहेको फर्निसिङ्गका कार्यहरू समेत यथाशीघ्र सम्पन्न गर्न शहरी विकास मन्त्रालयको सक्रिय सहयोग अपरिहार्य रहेको बताउनुभयो । साथै, डा. खनालले ठूलो संख्यामा प्रशिक्षण संचालनार्थ हाल रहेको प्रशिक्षण कक्षहरू तथा होस्टल लगायतका भौतिक संरचनाहरू अपुग रहेको बताउँदै नमोबुद्ध नगरपालिकामा प्रस्तावित आवासीय पूर्वाधार विकास परियोजनाको लागि जग्गाको भोगाधिकार लिने चरणमा रहेको जानकारी गराउँदै सोका लागि मन्त्रालयको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।
समुद्घाटन कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव श्री अर्जुनप्रसाद पोखरेलले यस ऐतिहासिक पुनः निर्मित भवनको डिजाइनको अवस्था देखि पुनः निर्माण सम्पन्न गर्ने चरणसम्म आवश्यक सहयोग र योगदान गर्नुहुने सबैलाई धन्यवाद एवं बधाइ ज्ञापन गर्नुभयो । साथै पुनः निर्मित सदनबाट प्रशिक्षण लगायतका कार्यक्रमहरू सरल, सहज र सेवाग्राहीमैत्री तवरले सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले गौरवपूर्ण सम्पदा सदन सुरक्षाको दृष्टिकोणबाट निर्माण गरिएको समेत प्रकाश पार्दै भवनको आन्तरिक फर्निसिङ्गका कार्यहरू गर्दा समेत सुरक्षाको विषयहरूमा ध्यान दिई गुणस्तरयुक्त सामाग्रीहरू प्रयोग गर्नुपर्ने बताउनु भयो । उहाँले कार्य वातावरणको भौतिक पक्ष सिकाइमैत्री, सुरिक्षत र गुणस्तरीय हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । आगामी दिनमा प्रतिष्ठानको भौतिक पूर्वाधारको स्तरोन्नति एवम् विकास विस्तारमा मन्त्रालयको सक्रिय सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाइका परियोजना निर्देशक प्रभाकरलाल कर्णले उक्त सदनको संरचनागत, वित्तीय र प्राविधिक पक्षका सम्बन्धमा संक्षिप्त जानकारी दिँदै निर्माणकार्य नव शास्त्रीय दृष्टीकोणबाट निर्देशित भई निर्माण गरिएको बताउनुभयो । उहाँले निर्माणकार्य सफलतापूर्वक सम्पन्न गर्नमा निर्माण कम्पनीको मेहेनत र प्रतिष्ठानको अपनत्व सहितको सहयोगका लागि आभार व्यक्त गर्नुभयो । कार्यक्रममा निर्माण कम्पनीको तर्फबाट श्री रमेश अवालेले सम्पदा सदन निर्माणकार्यमा सहभागी हुन पाएकोमा गौरव लागेको बताउँदै भवनको कलात्मक एवम् संरचनाका कार्यहरू योजना अनुरूप नै सम्पन्न गर्ने सन्दर्भमा नेपाल सरकार र प्रतिष्ठानबाट भएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
७२ रोपनी १२ आना क्षेत्रफलमा फैलिएको प्रतिष्ठान परिसरमा रहेको मुख्य भवन वास्तुकलाको एक उत्कृष्ट नमूनाका रूपमा रहेको थियो । आजभन्दा करीब एक शताब्दी अघि बनेको देशकै एक महत्वपूर्ण भौतिक सम्पदा भएको हुँदा प्रतिष्ठानको यस भवनलाई ‘सम्पदा सदन’ नामाकरण गरिएको हो । ऐतिहासिक तथ्यलाई दृष्टिगत गर्दा यो भवन श्री ३ वीर शमशेरबाट वि.सं. १९५४ सालदेखि निर्माण थालिएको जावलाखेल दरवार श्रृङ्खलाको एक महत्वपूर्ण भवनको रूपमा रहेको देखिन्छ जुन नेपाल सरकारले प्राप्त गर्नुअघि श्री ३ जुद्ध शमशेर र उनका सन्तानले भोगचलन गरिरहेका थिए । वि.सं. २०४० सालदेखि यसै भवनमा कार्यालय स्थापना गरी प्रतिष्ठानले प्रशिक्षण र प्रशासनिक कार्यहरू सम्पादन गर्दै आएको थियो ।