
प्रतिष्ठानमा नवनिर्मित संस्थागत शिला-निशान (NASC Emblem Carved in Stone) आज मिति २०८१/३/१० गते सोमबारका दिन कार्यकारी निर्देशक डा. राजन खनालले एक समारोहका बीच अनावरण गर्नुभयो । समारोहमा प्रतिष्ठानका कर्मचारीवर्गको उपस्थिति रहेको थियो ।
पूर्ण चन्द्रको आकार र रङमा कुँदिएको शिला-निशानलाई प्रतिष्ठानको मुख्य भवन सम्पदा सदनको दक्षिण पश्चिम बगैंचामा वृत्ताकार मण्डला बनाई स्थापना गरिएको छ । कार्यक्रममा उपकार्यकारी निर्देशक श्री विष्णुप्रसाद लम्साल र वरिष्ठ निर्देशक श्री वसन्तराज सिग्देलले उक्त निशान निर्माणको पृष्ठभूमि, अवधारणा एवं ऐतिहासिक पक्षको जानकारी गराउनुभएको थियो ।
कार्यक्रमलाई औपचारिक सम्बोधन गर्दै कार्यकारी निर्देशक डा. राजन खनालले सम्पदा सदनको प्राङ्गणमा विशिष्ट मौलिक प्रस्तरकलाबाट निर्माण गरिएको यस संस्थागत निशानले प्रतिष्ठानको ऐतिहासिक महत्ता अझ बढाएको बताउँदै यसले प्रतिष्ठानका सबै आगन्तुकहरूलाई ऐतिहासिक स्थलको अनुभूति (Sense of Place) गराउने विश्वास व्यक्त गर्नुभयो । साथै, उहाँले प्रतिष्ठानको पूर्वाधार एवं परिसरको समग्र ब्यवस्थापन र सौन्दर्यीकरणमा उल्लेख्य कामहरू भएको र आगामी दिनमा यस किसिमका रचनात्मक कार्यहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउँदै यस कार्यमा प्रत्यक्ष एवं परोक्ष रूपमा योगदान गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।










