प्रशिक्षण परिषद (Governing Council) को ७१ औँ बैठक सम्पन्न

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको प्रशिक्षण परिषद (Governing Council) को ७१ औँ बैठक  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री एवम् परिषदका अध्यक्ष माननीय राजकुमार गुप्ताज्यूको अध्यक्षतामा मिति २०८१/४/१६ गतेका दिन सम्पन्न भयो । प्रशिक्षण परिषद प्रतिष्ठानको सर्वोच्च निकाय हो जसले प्रतिष्ठानको समग्र नीतिगत नेतृत्वदायी भूमिका अनुरूप दीर्घकालीन योजना, वार्षिक योजना तथा कार्यक्रम र बजेट स्वीकृत गर्ने, प्रगति समिक्षा गर्ने र प्रतिष्ठानलाई आवश्यक नीति नियम बनाउने लगायत नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ऐन, २०३९ ले तोकेबमोजिमको जिम्मेवारी निर्वाह गर्दछ । परिषदमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, लोक सेवा आयोगका अध्यक्ष, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, नेपाल सरकारका मुख्य सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र अर्थ मन्त्रालयका सचिव पदेन सदस्य हुने र प्रतिष्ठानका कार्यकारी निर्देशक सदस्य सचिव हुने व्यवस्था रहेको छ । परिषद बैठकमा प्रतिष्ठानको रणनीतिक योजना (२०७९/८०-८३/८४) को दोस्रो वार्षिक प्रगति समिक्षा एवं आ.व. २०८०/८१ को वार्षिक प्रगति समिक्षा गरियो र चालु आ.व. २०८१/८२ का लागि प्रस्तावित वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गरियो । बैठकको अन्त्यमा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव श्री मुकुन्दप्रसाद निरौलालाई नेपाल सरकारको निर्णयानुसार परिवर्तित जिम्मेवारीका लागि शुभकामना एवम् परिषद सदस्यका रूपमा प्रतिष्ठानलाई पुर्याउनुभएको योगदानको लागि धन्यवाद ज्ञापन गरियो ।