३६औं आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रममा नेपाल प्रशासन सेवा (लेखा र राजस्व समूह), लेखापरीक्षण सेवा र परराष्ट्र सेवाका प्रशिक्षार्थी अधिकृतहरुका लागि संचालित तालिमको समापन

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका नव–नियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतहरुका लागि मिति २०७९ फागुन ३ गते शुभारम्भ भएको ३६औं आधारभूत प्रशासन प्रशिक्षण (Basic Administration Training) कार्यक्रममा नेपाल प्रशासन सेवा (लेखा र राजस्व समूह), लेखापरीक्षण सेवा र परराष्ट्र सेवाका प्रशिक्षार्थी अधिकृतहरुका लागि संचालित तालिमको आज समापन गरियो । यस अन्तर्गत राजस्व समूहका ७५, लेखा समूहका ६२, लेखापरीक्षण सेवाका १९ र परराष्ट्र सेवाका २ जना सहभागीहरु गरी २९ महिला तथा १२९ पुरुष सहित कूल १५८  जना प्रशिक्षार्थीहरु दीक्षित  भए  ।
तालिम समापन कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले गर्नुभएको थियो भने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय श्री अमनलाल मोदी प्रमुख अथितिको रुपमा उपस्थित हुनुभएको थियो । अथितिका रुपमा संघीय मामिला तथा सामान्य प्रशासन सचिव डा. कृष्णहरि पुष्कर, अर्थ मन्त्रालयका राजस्व सचिव डा. राम प्रसाद घिमिरे, महालेखा परीक्षकको कार्यालयका उपमहालेखा परीक्षक श्री महेश्वर काफ्ले, महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधि सह-महालेखा नियन्त्रक श्री शम्भु प्रसाद मरासिनी, परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहसचिव श्री लक्ष्मण खनाल, र सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख श्री राम प्रसाद आचार्यको पनि उपस्थिति रहेको थियो ।  उक्त आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रम सञ्चालन प्रतिष्ठानका अध्ययन निर्देशक श्री त्रिलोचन पौड्यालले गर्नु भएको थियो भने वरिष्ठ अध्ययन निर्देशक श्री तुलसी शरण सिग्देलले स्वागत मन्तव्य राख्नु भएको थियो
कार्यक्रम शुभारम्भमा प्रशिक्षार्थीहरुले सामुहिक रुपमा तयार गरिएको मूल्य र मान्यता प्रतिको प्रतिवध्दताहरुलाई दीक्षित भएका प्रशिक्षार्थीहरुले सामुहिक रुपमा वाचन गर्नुभएको र प्रतिवध्दताहरु जीवनपर्यन्त लागू गर्ने समेत व्यक्त गर्नुभएको थियो । प्रशिक्षार्थीहरुको तर्फबाट मन्तव्य व्यक्त गर्ने सिलसिलामा प्रेरणा क्याप्छ्याकी मगर र हरिभक्त आचार्यले आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको समग्र सिकाइ अनुभव एवं प्रशिक्षण कार्यक्रम सम्बन्धमा समीक्षा गर्नुभएको थियो । 
स्वागत मन्तव्य राख्ने क्रममा प्रतिष्ठानका बरिष्ठ अध्ययन निर्देशक सिग्देलले प्रशिक्षण कार्यक्रमलाई समय सापेक्ष परिमार्जन गरी कार्यक्रमलाई थप सहभागीतामूलक, प्रयोगात्मक, र व्यवहारिक बनाउन प्रयास गरिएको वताउनुभयो ।  यस आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमबाट दीक्षित हुने प्रशिक्षार्थीहरुको काँधमा थप जिम्मेवारी रहने विचार व्यक्त गर्दै जनताको अपेक्षा संबोधन गर्न प्रशिक्षार्थीहरुले आफ्नो तहबाट पूर्ण प्रयास गर्नुहुने विश्वास समेत वहांले व्यक्त गर्नुभयो ।
परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहसचिव श्री लक्ष्मण खनालले आफ्नो जिम्मेवारी पूरा गर्न आधारभूत प्रशासन प्रशिक्षणले प्रशिक्षार्थीहरुलाई कौशलता प्रदान गरेको विश्वास व्यक्त गर्दै अधिकृतहरुले सोही बमोजिम राष्ट्र निर्माण र जनताको सेवामा योगदान गर्ने अवसर रहेको बताउनुभयो ।

सह-महालेखा नियन्त्रक श्री शम्भु प्रसाद मरासिनीले प्रशिक्षार्थीहरुलाई कानूनको पालना र ज्ञान एवं विवेक प्रयोग गरी जनताको अपेक्षा पूरा गर्न अनुरोध गर्नुभयो । अप्ठ्यारो परिस्थितिमा समेत विवेकपूर्ण निर्णय लिई जिम्मेवारी पूरा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
अर्थ मन्त्रालयका राजस्व सचिव डा. राम प्रसाद घिमिरेले प्रशिक्षार्थीहरुलाई आगामी दिनहरुको लागि शुभकामना व्यक्त गर्नुभयो । प्रतिबद्वताहरुलाई आत्मसाथ गरी सदैव जिम्मेवारी निर्वाह गर्न सुझाउनुभयो । परिस्थिति बुझ्ने,  कानूनको छत्रछायाँमा रहेर काम गर्ने, सन्तुलित क्षमताको विकास गर्ने र आफ्नो सेवामा विश्वस्त हुने लगायत महत्वपूर्ण सुझाव व्यक्त गर्नुभयो ।
उपमहालेखा परीक्षक श्री महेश्वर काफ्लले प्रशिक्षार्थीहरुलाई आफ्नो प्रतिवध्दतालाई मनन गर्न आग्रह गर्नुभयो । प्रशिक्षार्थीहरुको सिकाई तत्परता र प्रतिवध्दता कार्यक्षेत्रमा रुपान्तरण हुनुपर्ने आवश्यकता व्यक्त गर्नुभयो ।
संघीय मामिला तथा सामान्य प्रशासन सचिव डा.कृष्णहरि पुष्करले दीक्षित प्रशिक्षार्थीहरुलाई बधाई एवं शुभकामना व्यक्त गर्दै प्रशिक्षार्थीहरुलाई हामी सबै राष्ट्रसेवा गर्ने मुख्य जिम्मेवारी रहेको स्मरण गराउदै संबेदनशील हुनुपर्ने बताउनुभयो । साथै देश र जनताको अपेक्षा बुझेर आदर्श शैली अपनाई सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
दीक्षान्त मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि माननीय मन्त्री श्री अमनलाल मोदीले प्रशिक्षार्थीहरुलाई सेवाभावको विकास गर्न सुझाव दिनुभयो । समाजमा पछि परेका र कमजोर अवस्थामा रहेको जनताहरुलाई केन्द्रविन्दुमा राखेर सार्वजनिक सेवा प्रवाह गर्न सुझाउनुभयो । साथै जीवनमा मितव्ययिताको सिध्दान्त अपनाउदा भ्रष्टाचार समेत न्यूनीकरण हुने बताउनु भयो । साथै उहाँले नव–नियुक्त अधिकृतहरुलाई आफ्नो प्रतिभा, क्षमता र कार्यशैलीमा आवश्यक सुधारात्मक विकास गर्नुपर्ने सुझाव औल्याँउदै ३६औं आधारभुत प्रशासन प्रशिक्षणबाट दीक्षित प्रशिक्षार्थीहरुलाई बधाई,  शुभेच्छा एवं शुभकामना व्यक्त गर्नुभयो ।
समापन मन्तव्य दिने क्रममा कार्यक्रमका अध्यक्ष नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले  कार्यक्षेत्रमा गएर स्वयंलेनै सेवा प्रवाह गर्नुपर्ने हुँदा स्वयंको क्षमता विकास गर्नु अति आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । साथै सार्बजनिक सेवाप्रति प्रतिवध्द रही अवसरहरुको सदुपयोग गर्नुपर्ने बताउनुभयो ।  यस प्रशिक्षणले प्रशिक्षार्थीहरुमा समूहगत एवं समन्वय सीपको समेत विकास गरेको बताउनुभयो । साथै प्रशिक्षण कार्यक्रमले प्रशिक्षर्थीहरुमा विभिन्न सीप र ज्ञानको विकास गरी व्यवहारमा सकारात्मक परिवर्तनमा योगदान गर्ने बताउनुभयो । अन्तमा डा. खनालले आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमबाट दीक्षित सम्पूर्ण प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन एवं  आगामी दिनहरुको लागि शुभकामना व्यक्त गर्नुभयो ।