नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका नव–नियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतहरुका लागि मिति २०८० फागुन १० गते शुभारम्भ भएको ३८औं आधारभूत प्रशासन प्रशिक्षण (Basic Administration Training) कार्यक्रममा नेपाल प्रशासन सेवा (लेखा र राजस्व समूह), लेखापरीक्षण सेवा, संसद सेवा र परराष्ट्र सेवाका प्रशिक्षार्थी अधिकृतहरुका लागि संचालित ४ महिने आधारभूत प्रशिक्षणको आज मिति २०८१ असार ४ गते, मङ्गलवार समापन गरियो । यस अन्तर्गत लेखा समूहका ५०, राजस्व समूहका ३३, लेखापरीक्षण सेवाका १७, संसद सेवाका ९ र परराष्ट्र सेवाका ८ जना सहभागीहरु गरी २५ महिला तथा ९२ पुरुष सहित कूल ११७ जना प्रशिक्षार्थीहरु दीक्षित भए ।
तालिम समापन कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले गर्नुभएको थियो भने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय श्री भानुभक्त जोशी प्रमुख अथितिको रुपमा उपस्थित हुनुभएको थियो । अथितिका रुपमा संघीय मामिला तथा सामान्य प्रशासन सचिव, श्री मुकुन्द प्रसाद निरौला; महालेखानियन्त्रक, श्री विनोद प्रकाश सिंह; उप-महालेखा परीक्षक, श्री बैकुण्ठ बहादुर अधिकारी; सङ्घीय संसद सचिवालयका सचिव, श्री सुदर्शन खड्का र परराष्ट्र मन्त्रालयका सहसचिव, श्री सुरेश अधिकारीको पनि उपस्थिति रहेको थियो ।
समापन समारोहमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि माननीय मन्त्री श्री भानुभक्त जोशीले सार्वजनिक सेवालाई समायानुकुल सहज र सरल रुपमा नागरिक समक्ष उपलव्ध गराउने आधारभूत दायित्व पूरा गर्न निर्देशन दिनुभयो । साथै सेवाग्राही र सेवा प्रदायकका बिचको सम्बन्धमा समेत सकारात्मक प्रभाव पर्ने गरी विद्यमान सेवाप्रवाहलाई सवलीकरण, परिमार्जन र सुधार गर्नुपर्ने सुझाव औल्याँउदै ३८औं आधारभूत प्रशासन प्रशिक्षणबाट दीक्षित प्रशिक्षार्थीहरुलाई बधाई, शुभेच्छा एवं शुभकामना व्यक्त गर्नुभयो ।
समापन मन्तव्य दिने क्रममा कार्यक्रमका सभाध्यक्षको आशनवाट प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले यस प्रशिक्षणले प्रशिक्षार्थीहरुमा विभिन्न सीप र ज्ञानको विकास गरी व्यवहारमा सकारात्मकता ल्याउन तथा समूहगत एवं समन्वयकारी दक्षता अभिवृद्धि हुनुको साथै नेतृत्व विकास गराउन सफल रहेको बताउदै यस प्रशिक्षण कार्यक्रमबाट दीक्षित सम्पूर्ण प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन एवं आगामी दिनहरुको लागि शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रशिक्षार्थीहरुले सामुहिक रुपमा तयार गरिएको मूल्य र मान्यता प्रतिको प्रतिवद्धताहरुलाई दीक्षित भएका प्रशिक्षार्थीहरुले सामुहिक रुपमा वाचन गर्नुभएको र प्रतिवद्धताहरु जीवनपर्यन्त लागू गर्नेसमेत व्यक्त गर्नुभएको थियो । प्रशिक्षार्थीहरुको तर्फबाट मन्तव्य व्यक्त गर्ने सिलसिलामा सविता खनाल र बिक्रम पन्थीले आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको समग्र सिकाइ अनुभव एवं प्रशिक्षण कार्यक्रम सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।