
प्रेस विज्ञप्ति
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका नव–नियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका अधिकृतहरुका लागि मिति २०८१ मंसिर २६ गते शुभारम्भ भएको ६ महिने ३९ औं आधारभूत प्रशासन प्रशिक्षण (Basic Administration Training) कार्यक्रमको आज मिति २०८२ असार २ गते समापन गरियो । जस अन्तर्गत ११६ जना प्रशिक्षार्थीहरु दीक्षित भए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका मुख्य सचिब श्री एकनारायण अर्यालज्यूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई जनताको हितमा प्रयोग गर्नका लागि निर्देशन दिनुभयो । मन्तव्यकै क्रममा वहाँले प्रशिक्षार्थीहरुले ईमान्दारीताका साथ सेवाप्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । साथै वहाँले प्रशिक्षार्थीहरुलाई नेपालको संविधान एवम् सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मर्म अनुरूप नागरिक सन्तुष्टिलाई केन्द्रबिन्दुमा राखी सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय र प्रभावकारी बनाउन र सार्वजनिक प्रशासनलाई सुशासनयुक्त, समावेशी र न्यायपूर्ण संयन्त्रको रूपमा विकास गर्न जरुरी रहेको बताउदै ३९औं आधारभूत प्रशासन प्रशिक्षणबाट दीक्षित प्रशिक्षार्थीहरुलाई बधाई एवं शुभकामना व्यक्त गर्नुभयो । साथै वहाँले दीक्षित प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गर्नुभयो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव श्री रविलाल पन्थले दीक्षित प्रशिक्षार्थीहरुलाई बधाई एवं शुभकामना व्यक्त गर्दै प्रशिक्षार्थीहरुलाई हरेक कुरामा सकारात्मक सोच राखेर सार्वजनिक जीवनका हरेक जिम्मेवारी उत्साहित र उत्प्रेरित रूपमा निर्वाह गर्दै सार्वजनिक हित लाई केन्द्रबिन्दुमा राखी राष्ट्रसेवा गर्ने जिम्मेवारी सम्हाल्न तयार रहनुपर्ने बताउनुभयो ।
समापन मन्तव्यका क्रममा कार्यक्रमका सभाध्यक्ष नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमबाट दीक्षित सम्पूर्ण प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन एवं आगामी दिनहरुको लागि शुभकामना व्यक्त गर्नुभयो ।
प्रशिक्षणको पूनरावलोकन सहित स्वागत मन्तव्य राख्ने क्रममा प्रतिष्ठानको सार्वजनिक सेवा प्रशिक्षण विभागका प्रमुख एवं बरिष्ठ अध्ययन निर्देशक त्रिलोचन पोखरेलले प्रशिक्षण कार्यक्रमलाई समय सापेक्ष परिमार्जन गरी कार्यक्रमलाई थप सहभागीतामूलक, प्रयोगात्मक, र व्यवहारिक बनाउन प्रयास गरिएको वताउनुभयो ।
यसै क्रममा प्रतिष्ठानका कार्यकारी निर्देशकज्यूबाट प्रतिष्ठानले नेपालका सार्वजनिक तालिम प्रदायक संस्थाहरुको अवस्था विश्लेषण गरी तयार पारेको सुझाव प्रतिवेदन नेपाल सरकारका मुख्य सचिबलाई हस्तान्तरण गर्नुभयो । सोहि कार्यक्रममा प्रशिक्षार्थी अधिकृत श्यामबिक्रम न्यौपानेद्वारा लिखित महाकाव्य/कृति "हराएको हिरा" को अतिथिहरुबाट विमोचन भयो ।
कार्यक्रम शुभारम्भमा प्रशिक्षार्थीहरुद्वारा सामुहिक रुपमा तयार पारिएको मूल्य र मान्यता प्रतिको प्रतिवद्धताहरु सामुहिक रुपमा वाचन गर्दै ती मूल्य र मान्यताहरु जीवनपर्यन्त लागू गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । प्रशिक्षार्थीहरुको तर्फबाट मन्तव्य व्यक्त गर्ने सिलसिलामा सुनिता रिमाल र कृष्ण मरासिनीले आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको समग्र सिकाइ अनुभव एवं प्रशिक्षण कार्यक्रम सम्बन्धमा समीक्षा गर्नुभएको थियो ।