नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ३९ औं बार्षिक उत्सव सम्पन्न

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ३९ औं बार्षिक उत्सव स्वास्थ्य मापदण्डको पालना सहित प्रतिष्ठानको अडिटोरियम हलमा आज एक बिशेष समारोह आयोजना गर्दै सम्पन्न भयो । राष्ट्रियगान गायनका साथमा सुरूवात भएको उक्त कार्यक्रमको औपचारिक समुद्घाटन प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल सरकारका पुर्व सचिव डा. राजन खनालले पानसमा दियो बालेर गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य तथा प्रतिष्ठानको बार्षिक प्रगति विवरणको समिक्षा गर्दै प्रतिष्ठानका उप-कार्यकारी निर्देशक तथा नेपाल सरकारका पुर्वसचिव श्री विष्णुप्रसाद लम्सालले प्रतिष्ठानलार्इ यस अवस्थामा ल्याइपुर्याउने सम्मुर्ण अग्रजहरू तथा प्रतिष्ठानका पुर्व कर्मचारीहरूलाइ सम्मानका साथ स्मरण गर्दै कोभिड-१९ को महामारीका बीचमा पनि हामीले जे जति प्रगति गर्न सक्यौं, ती सबै हाम्रा संयुक्त प्रयासले भएका हुन् र यो प्रयासमा प्रतिष्ठानको संघीयता अध्ययन केन्द्रले यस प्रगतिमा ईंटा थप्ने कार्य गरेको बताउँदै सबै कर्मचारीहरूको निशर्त सहयोगले मात्र प्रतिष्ठानलाइ गति प्रदान गर्दै नेपालकै एक उदाहरणिय संस्थाकारूपमा उभ्याउन सकिने बिस्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा गत आर्थिक बर्षदेखि अवकाश प्राप्त गरेका प्रतिष्ठानका कर्मचारीहरूलाइ कोभिड-१९ का कारणले बिदाइ गर्न नसकिएकोमा ३९ औं बार्षिक उत्सवका अवसरमा अवकाश प्राप्त कर्मचारीहरू वहिनीमैया प्रधान, सुन्दरराज दुवाल र मनोजमान चिपालुलाइ प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्दै बिदाइ गर्नुभयो । कार्यक्रममा ३९ औं बार्षिक उत्सवका अवसरमा आयोजित विभिन्न अतिरिक्त कृयाकलापमा सहभागि भएर प्रथम र द्वीतिय स्थान हासिल गर्ने कर्मचारीहरूलाइ प्रतिष्ठानका कार्यकारी निर्देशक डा. खनालले पदक तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त कार्यक्रममा गत आर्थिक बर्षमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरू श्री ताराप्रसाद खरेल, श्री प्रमोद निरौला, श्री अनु सेढाँई र श्री रामभाई देसारलाई प्रतिष्ठानका कार्यकारी निर्देशक डा. खनालले नगद पुरस्कार प्रदान गर्दै सम्मान पत्र प्रदान गर्नुभयो ।

समापन मन्तव्य राख्दै प्रतिष्ठानका कार्यकारी निर्देशक डा. खनालले आजको दिन हौसला प्राप्त गर्ने दिन भएकाले सबै कर्मचारीहरूलाइ बधार्इ ज्ञापन गर्नुभयो । उहाँले पुर्व कर्मचारीहरूले प्रतिष्ठानको स्थापना देखि यो अवस्था सम्म ल्याइपुर्याउन गर्नुभएको योगदानको स्मरण गर्दै कोभिड महामारीको कठिन परिस्थितीमा पनि हामी सबैको संयुक्त प्रयासले प्रशिक्षण, अनुसन्धान र परामर्शका कार्यहरू गर्न सक्षम भयौं, यस्तो कठिन परिस्थितीमा पनि प्रशिक्षण लगायतका कार्यहरू सुचारू राखेर हामीले यस प्रतिष्ठानको औचित्य स्थापित गर्न सक्षम भयौं भन्ने बताउँदै संस्था पहिलो हो र हामी दोस्रो हौं, संस्थाको अस्तित्वसँग हाम्रो अस्तित्व पनि जोडिएकाले यस प्रतिष्ठानको थप प्रगतिका लागि आजबाटै प्रतिबद्धता सहित प्रयत्न जारी राखौं भन्ने बताउनुभयो । साथै उहाँले अवकाश प्राप्त कर्मचारीहरूको सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको पनि कामना गर्नुभयो ।