NWASH-MIS प्रणालीको स्थायित्वको लागि अर्थतन्त्रसंग जोड्नुपर्ने  

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरको पृथ्वी हलमा आयोजित Know Your Economy (KYE) Module अन्तर्गत ACMD 4th Batch कोशी समूहले खानेपानी मन्त्रालयबाट तयार भई विभिन्न पालिकाहरुले प्रयोग गरिरहेको खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको Web based GIS Enabled Decision Support System NWASH-MIS विषयक कार्यशाला गोष्ठी सम्पन्न गरेको  छ। उक्त कार्यक्रममा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनाल प्रमूख अतिथि तथा बरिष्ठ निर्देशकद्वय श्री बसन्त सिग्देल र त्रिलोचन पोख्रेलले अतिथिको आसन ग्रहण गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता श्री श्यामबाबु काफ्ले र प्रस्तुतिकरण श्री दुर्गा बन्जाडे र प्रभात श्रेष्ठले गर्नुभएको थियो। त्यस्तै उक्त कार्यक्रममा श्री रामचन्द्र पौडेलले कार्यक्रम व्यवस्थापक, श्री मंजुर अहमदले टिप्पणीकर्ता, श्री शिव सागर चौधरी र श्री नविनसिंह राईले प्रतिवेदकको भूमिका निर्वाह  गर्नुभएको थियो।  
प्रस्तुतकर्ताद्वयबाट खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रको योजना विकासमा देखिएका समस्याहरु औल्याउदै त्यस्ता समस्याहरुको समाधानको लागि Evidence Based Planning गर्न NWASH-MIS प्रणालीले सहयोग गर्ने बताउदै सो प्रणालीको प्रदर्शन (Demonstration) गर्नुका साथै सो प्रणालीको उपयोग (Use) तथा सीमाहरु (Limitations) र चुनौतीहरु (Challenges) का बारेमा समेत प्रस्तुतिकरण गर्नु भएको थियो।  
उक्त प्रस्तुतिकरणमा श्री मंजुर अहमदले टिप्पणी गर्दै यस प्रणालीको स्थायित्वको बारेमा चिन्ता व्यक्त गर्नु भएको थियो।कार्यक्रमको खुला सत्रमा सहभागी ११ जनाले यस प्रणालीको बारेमा आ-आफ्ना जिज्ञासा र राय सुझावहरु राख्दै प्रणालीलाई थप अभिवृद्दि गर्न गम्भीर हुनुपर्ने बताउनु भएको थियो। जिज्ञासाहरुको सम्बोधन प्रस्तुतकर्ताद्वयबाट गरिएको थियो।
कार्यक्रमका अतिथिहरुबाट यो प्रणालीको प्रयोग गरेर स्थानीय तहलाई हुनसक्ने लाभ र निर्णय प्रक्रियामा रहने उच्च पदस्थ अधिकारीहरुलाई निर्णय गर्न कसरी सहयोग हुन सक्छ भनी जिज्ञासा राख्दै यस प्रणालीको थप अभिवृद्धिको लागि प्राज्ञिक निकायहरुसंग समन्वय हुन आवश्यक रहेको बताउनुभएको थियो।  
यस कार्यक्रमका प्रमूख अतिथि तथा  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशकले यस प्रकारका प्रणालीलाई राष्ट्रिय अर्थतन्त्रसंग जोड्न सकेमा  दिगोपना हुने सुझाव दिनुभएको थियो।  
कार्यक्रमको अन्तमा कार्यक्रमका अध्यक्ष श्री श्यामबाबु काफ्लेले खानेपानी, सरसफाइ तथा स्वच्छता मानव अधिकारको आधारभूत विषय भएको र यस प्रणालीले त्यस्ता अधिकारको उपभोगलाई सहयोग गर्ने भन्दै कार्यक्रमका अतिथि र सम्पूर्ण सहभागीहरुलार्इ धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो।
२०७९।०५।२८, ललितपुर