प्रेस विज्ञप्ति (Press Release)
यही मिति २०७६/०९ /२८ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले नेपाल सरकारका नव नियुक्त शाखा अधिकृतहरुको ३ महिने सेवा प्रवेश ३४ औ आधारभूत प्रशासन प्रशिक्षण ( Basic Administration Training) कार्यक्रमको एक समारोहबीच औपचारिक रुपमा समापन गरेको छ |
कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक श्री पुण्य प्रसाद न्यौपानेले प्रशिक्षार्थीहरुलाई बधाई दिंदै निजामती कर्मचारीले इमान्दारिता,अनुशासन , सदाचारिता देखाई समग्र कार्य सम्पादनमा सो को प्रतिबिम्बित गराउनु पर्नेमा जोड दिनुभयो | देशको परिबर्तित सन्दर्भलाई दृष्टिगतगरी परिमार्जनसहितको पाठ्यक्रमबाट नव नियुक्त अधिकृतहरुलाई दीक्षित गराइको उल्लेख गर्नुभयो | ब्यबहार बिनाको ज्ञान काम नलाग्ने स्मरण गराउदै राष्ट्रको परिबर्तनलाई जिम्मेवारीपूर्बक बहन गरी आफ्नो पदको गरिमा उच्च राख्न वहाँले सुझाब दिनुभयो | सोही समारोहमा प्रशिक्षार्थीहरुलाई कार्यकारी निर्देशकले पुरस्कार, पदक तथा प्रमाण पत्र वितरण गर्नुभयो |
कार्यक्रममा प्रतिष्ठानको सार्वजनिक सेवा प्रशिक्षण बिभागका विभागीय प्रमुख तथा उप कार्यकारी निर्देशक श्री नारायण गोपाल मलेगोले सबैलाई स्वागत गर्दै प्रशिक्षणको समीक्षा गर्नुभएको थियो | वहाँले प्रशिक्षणका विभिन्न विधा अन्तर्गत अभ्यासमूलक प्रशिक्षण बिधिहरु, अतिरिक्त क्रियाकलापहरू, देश-दर्शन कार्यक्रम लगायतका कार्यहरुले प्रशिक्षार्थीहरुलाई भविष्यमा आफ्नो कार्य क्षेत्रमा गइ काम गर्न सजिलो हुने बिश्वाश ब्यक्त गर्नुभयो | निजामती सेवालाई बिभिन्न आक्षेपहरू लाग्ने गरेको स्मरण गराउँदै अहिलेको परिवर्तित सन्दर्भमा सिकेका ज्ञान तथा सीपहरू ब्यबहारमा लागू गर्नु प्रमुख दायित्व भएको उल्लेख गर्नुभयो ।
प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्ने क्रममा महालेखा परीक्षक कार्यालयका उपमहालेखा परीक्षक श्री बाबुराम गौतमले विविध पक्षलाई समेटेर तयार गरिएको यस किसिमको प्रशिक्षणले प्रशिक्षार्थीहरुको व्यक्तित्व बिकासमा सकारात्मक प्रभाव पार्ने र प्रतिबद्धतासहितका मूल्य – मान्यताहरुले कार्यस्थलमा व्यवहारिक स्थान पाउने उल्लेख गर्नुभयो |
कार्यक्रममा प्रतिष्ठानका बरिष्ठ अध्ययन निर्देशक श्री बिष्णु प्रसाद लम्सालले यस प्रशिक्षणले सहभागीरुलाई प्रशस्त उर्जा प्रदान गरेको उल्लेख गर्दै कार्यस्थलमा तत्काल गर्नुपर्ने कार्यको स्पष्ट दिशा निर्देश गरेको धारणा ब्यक्त गर्नुभयो |
सहभागीहरुलाई सम्बोधन गर्ने क्रममा परराष्ट्र मन्त्रलायका सहसचिव श्री तपस अधिकारी र संघीय संसद सचिवालयका सहसचिव श्री सुदर्शन खड्काले प्रतिष्ठानबाट सिकेका सीपहरुलाई व्यवहारमा रुपान्तरण गर्ने काम दीक्षित प्रशिक्षार्थीहरुको दायित्व भएको स्मरण गराउनु भयो |
कार्यक्रममा प्रशिक्षार्थीहरुकोतर्फबाट बोल्दै प्रशिक्षार्थीद्वय श्री डिलाराम खनाल र सिर्जना भण्डारीले प्रतिष्ठानको अविभाकत्व प्रति हार्दिक आभार ब्यक्त गर्दै प्रशिक्षणका बिषयबस्तुहरू लगायतका बिभिन्न अतिरिक्त कृयकलापहरू अविस्मरणीय एबं जीवनशैलीलाई प्रत्यक्ष र परोक्ष प्रभाव पार्ने रहेको बताउँदै निजामती सेवा प्रति प्रतिबद्ध हुने अठोट गर्नु भयो |
यस तीन महिने प्रशिक्षण कार्यक्रममा महालेखा परीक्षक , परराष्ट्र र संसद सेवा गरी जम्मा ४८ जनाको प्रशिक्षार्थीको सहभागिता थियो |
कार्यक्रममा प्रशिक्षण दौरानमा खिचिएको प्रशिक्षार्थीहरूको बिभिन्न क्रियाकलापहरू समेटिएको वृतचित्र प्रदर्शन गरिनुका साथै ३४औं आधारभूत प्रशासन प्रशिक्षणका सहभागीहरुद्वारा हस्ताक्षर गरिएको मूल्य-मान्यता प्रतिको प्रतिबद्धताको सहभागीहरुद्वारा पूर्णवाचनसहित सम्बन्धित मन्त्रालय/कार्यालयका प्रतिनिधिहरुलाई प्रतिष्ठानका कार्यकारी निर्देशकमार्फत् हस्तान्तरण गरियो | उक्त कार्यक्रममा प्रशिक्षार्थी अधिकृतहरुका बिवरणसहितको रचनाको संगालो ‘सृजनाका फूलहरु‘ कार्यकारी निर्देशक एबम उपस्थित अतिथिहरुबाट विमोचन गरिएको थियो ।