नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका नव–नियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतहरुका लागि आयोजित ३७औं आधारभूत प्रशासन प्रशिक्षण (Basic Administration Training) को आज मिति २०८० असोज १७ गते विधिवत रुपमा शुभारम्भ गरियो । यस आधारभूत प्रशासन प्रशिक्षण प्रशासन समूहका अधिकृतहरुका लागि ६ महिना सम्म सञ्चालनमा रहन्छ भने वाँकी सेवा/समूहको हकमा ४ महिना सम्म सञ्चालनमा रहन्छ । यस अन्तर्गत सामान्य प्रशासन समूहका ८३, लेखा समूहका ८४, राजस्व समूहका २०, लेखापरीक्षण सेवाका ८, परराष्ट्र सेवाका १ र संसद सेवाका १ जना सहभागीहरु गरी कुल १९७ जना प्रशिक्षार्थीहरु रहेका छन् ।

प्रशिक्षार्थीहरुलाई शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथिको आसनबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका माननीय मन्त्री तथा प्रतिष्ठानको प्रशिक्षण परिषद्का अध्यक्ष श्री अनिता देवीले जनहितमा काम गर्न आवश्यक ज्ञान र सीप हासिल गर्नमा यो प्रशिक्षण सहयोगी हुने विचार व्यक्त गर्नुभयो । त्यसैगरी वहाँले सरकारको आधिकारिक अधिकृत भएर प्रशिक्षणको उद्देश्य अनुसार ज्ञान सीप हासिलगरी जनताको सेवामा काम गर्न निर्देशन दिनुभयो । साथै वहाँले ३७औं आधारभूत प्रशासन प्रशिक्षणले प्रशिक्षार्थीहरुको प्रतिभा, क्षमता र कार्यशैलीमा सुधार ल्याउन धेरै सहयोग पुर्याउने अपेक्षा राख्दै सोको लागि शुभेच्छा एवं शुभकामना व्यक्त गर्नुभयो ।


त्यस्तै प्रशिक्षार्थीहरुलाई शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा बिशेष अतिथिको आसनबाट नेपाल सरकारका मुख्यसचिव तथा प्रतिष्ठानको प्रशिक्षण परिषदका सदस्य डा. बैकुण्ठ अर्यालले प्रतिष्ठानबाट प्राप्त ज्ञान, सीप तथा सकारात्मक अवधारणालाई व्यवहारमा उतार्न आग्रह गर्नुका साथै आफूलाई प्राप्त अधिकार सही ढंगले प्रयोग गर्न समेत निर्देशन दिनुभयो । उक्त शुभारम्भ कार्यक्रममा लोक सेवा आयोगका सचिव श्री राजकुमार श्रेष्ठ, महालेखा नियन्त्रक श्री हरिप्रसाद मैनाली, उप-महालेखा परीक्षक वामदेव शर्मा अधिकारी, संघीय संसद सचिवालयका डा. रोजनाथ पाण्डे र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका निमत्त सचिव कमल प्रसाद भट्टराईले समेत शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

शुभारम्भ कार्यक्रमको समापन मन्तव्य दिने क्रममा कार्यक्रमका सभाध्यक्ष प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमबाट सम्पूर्ण प्रशिक्षार्थीहरुलाई धेरै भन्दा धेरै सिकाईका लागि आग्रह गर्नुभयो । स्वागत मन्तव्य राख्ने क्रममा प्रतिष्ठानको सार्वजनिक सेवा प्रशिक्षण विभागका प्रमुख एवं बरिष्ठ अध्ययन निर्देशक श्री त्रिलोचन पोखरेलले प्रशिक्षण कार्यक्रमको उद्देश्य तथा बिषयवस्तुहरुको बारेमा प्रकास पार्नुभएको थियो ।
