नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका नव–नियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतहरुका लागि मिति २०८० असोज १७ गते शुभारम्भ भएको ३७औं आधारभूत प्रशासन प्रशिक्षण (Basic Administration Training) कार्यक्रममा नेपाल प्रशासन सेवा (लेखा र राजस्व समूह), लेखापरीक्षण सेवा, संसद सेवा र परराष्ट्र सेवाका प्रशिक्षार्थी अधिकृतहरुका लागि संचालित ४ महिने आधारभूत प्रशिक्षणको आज मिति २०८० माघ १९ गते, शुक्रवार समापन गरियो । यस अन्तर्गत लेखा समूहका ८३, राजस्व समूहका १९, लेखापरीक्षण सेवाका ७, संसद सेवाका १ र परराष्ट्र सेवाका १ जना सहभागीहरु गरी १६ महिला तथा ९५ पुरुष सहित कूल १११ जना प्रशिक्षार्थीहरु दीक्षित भए ।
तालिम समापन कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले गर्नुभएको थियो भने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय श्री अनिता देवी प्रमुख अथितिको रुपमा उपस्थित हुनुभएको थियो । विशेष अथितिका रुपमा नेपाल सरकारका श्रीमान् मुख्य-सचिव, डा.बैकुण्ठ अर्याल र अतिथिका रुपमा संघीय मामिला तथा सामान्य प्रशासन सचिव, श्री विनोद प्रकाश सिंह, महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधि, सह-महालेखा नियन्त्रक, श्री राजेश्वर ज्ञवाली र सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख श्री राम प्रसाद आचार्यको पनि उपस्थिति रहेको थियो ।
समापन समारोहमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्दै मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि माननीय मन्त्री श्री अनिता देवीले “मेरो क्षेत्र वा जिल्ला नभनि देशै भरिको क्षेत्र वा जिल्ला मेरो हो” भन्ने भावना लिएर सेवाभावको विकास गर्दै र भ्रष्टाचारमा संलग्न नभई समाजमा पछि परेका र कमजोर अवस्थामा रहेको जनताहरुलाई केन्द्रविन्दुमा राखेर सार्वजनिक सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । साथै सानो रकमको प्रलोभनमा नपरी, कलमको सही प्रयोग गरी, अरु कसैको पछि नलागी, तर अरुलाई आफ्नो पछिलाग्ने बनाई आफ्नो प्रतिभा, क्षमता र कार्यशैलीमा आवश्यक सुधारात्मक विकास गर्नुपर्ने सुझाव औल्याँउदै ३७औं आधारभूत प्रशासन प्रशिक्षणबाट दीक्षित प्रशिक्षार्थीहरुलाई बधाई, शुभेच्छा एवं शुभकामना व्यक्त गर्नुभयो ।
नेपाल सरकारका श्रीमान् मुख्य-सचिव, डा. बैकुण्ठ अर्यालले दीक्षित प्रशिक्षार्थीहरुलाई बधाई एवं शुभकामना व्यक्त गर्दै प्रशिक्षार्थीहरुलाई सेवाभावको विकास गर्दै राष्ट्रसेवा गर्ने मुख्य जिम्मेवारी रहेको स्मरण गराउनुभयो । साथै देश र जनताको अपेक्षा बुझेर आदर्श शैली अपनाई सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
समापन मन्तव्य दिने क्रममा कार्यक्रमका सभाध्यक्षको आशनवाट प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले यस प्रशिक्षणले प्रशिक्षार्थीहरुमा विभिन्न सीप र ज्ञानको विकास गरी व्यवहारमा सकारात्मकता ल्याउन तथा समूहगत एवं समन्वयकारी दक्षता अभिवृद्धि हुनुको साथै नेतृत्व विकास गराउन सफल रहेको बताउदै यस प्रशिक्षण कार्यक्रमबाट दीक्षित सम्पूर्ण प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन एवं आगामी दिनहरुको लागि शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रशिक्षार्थीहरुले सामुहिक रुपमा तयार गरिएको मूल्य र मान्यता प्रतिको प्रतिवद्धताहरुलाई दीक्षित भएका प्रशिक्षार्थीहरुले सामुहिक रुपमा वाचन गर्नुभएको र प्रतिवद्धताहरु जीवनपर्यन्त लागू गर्नेसमेत व्यक्त गर्नुभएको थियो । प्रशिक्षार्थीहरुको तर्फबाट मन्तव्य व्यक्त गर्ने सिलसिलामा रोमा पाण्डे र शिवराज जोशीले आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको समग्र सिकाइ अनुभव एवं प्रशिक्षण कार्यक्रम सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।
