नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (NASC) द्वारा नेपाल सरकारका विभिन्न सेवा तथा समूहका नवप्रवेशी राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतहरूका लागि आयोजित ४१ औँ आधारभूत प्रशासनिक प्रशिक्षण (Basic Administration Training - BAT) आज मिति २०८३ मंसिर ७ गते, सोमबार विधिवत रूपमा शुभारम्भ भएको छ।
प्रशासन समूहका अधिकृतहरूका लागि यो प्रशिक्षण ६ महिनासम्म सञ्चालन हुनेछ भने अन्य सेवा/समूहका अधिकृतहरूका लागि ४ महिनासम्म सञ्चालन हुनेछ। यस तालिममा सामान्य प्रशासन समूहका १२८, राजस्व समूहका ३७, लेखापरीक्षण सेवाका ११, परराष्ट्र सेवाका ९ र संघीय संसद सेवाका ४ जना गरी जम्मा १८९ जना प्रशिक्षार्थी अधिकृतहरूको सहभागिता रहेको छ।
उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै माननीय भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ४१ औँ आधारभूत प्रशासनिक प्रशिक्षणका सहभागीहरूलाई हार्दिक बधाई तथा सफल प्रशिक्षणको शुभकामना व्यक्त गर्नुभयो। उहाँले आधारभूत प्रशासनिक प्रशिक्षणलाई निजामती सेवाको यात्राको महत्वपूर्ण सुरुवाती बिन्दुका रूपमा उल्लेख गर्दै यसले सार्वजनिक सेवाप्रतिको जिम्मेवारी र प्रतिबद्धतालाई अझ गहिरो बनाउने बताउनुभयो।नागरिकमुखी सेवाको अवधारणामा जोड दिँदै उहाँले वर्तमान समयका सार्वजनिक पद धारण गर्ने अधिकारीहरू लचिलो, अनुकूलनशील र संकटको समयमा समेत प्रभावकारी नेतृत्व गर्न सक्षम हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, निरन्तर सुधार, दिगो सीप विकास र सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धि आजको प्रमुख आवश्यकता रहेको उहाँको भनाइ थियो।
मन्तव्यकै क्रममा संघीय संसद सचिवालयका सहसचिव श्री रामहरी थापा, परराष्ट्र मन्त्रालयका निमित्त सचिव कृष्ण प्रसाद ढकाल, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका निमित्त सचिव गणेश राज भट्ट, उपमहालेखा परीक्षक घनश्याम पराजुली तथा महालेखा नियन्त्रक बैकुण्ठ प्रसाद अर्याल लगायतले नवप्रवेशी प्रशिक्षार्थी अधिकृतहरूलाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो।
यसअघि स्वागत मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानका सार्वजनिक सेवा प्रशिक्षण विभागका प्रमुख एवं वरिष्ठ अध्ययन निर्देशक त्रिलोचन पोखरेलले आधारभूत प्रशासनिक प्रशिक्षण कार्यक्रमको उद्देश्य, संरचना र मुख्य विषयवस्तुहरूबारे प्रकाश पार्नुभएको थियो। समारोहको समापन मन्तव्यका क्रममा कार्यक्रमका सभापति एवं प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राम प्रसाद घिमिरेले आधारभूत प्रशासनिक प्रशिक्षणलाई ‘अन-लर्न’ (unlearn) गर्ने अवसरका रूपमा लिन प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभयो। उहाँले आफ्नो परिवार र समुदायको अपेक्षालाई आत्मसात गर्दै सुशासन, विकास र प्रभावकारी सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राख्न निर्देशन दिनुभयो।