ललितपुर, ११ असोज २०८३।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (NASC) ले आफ्नो स्थापनाको ४४औँ वर्ष पूरा गरेको अवसरमा आज ११ असोज २०८३ मा ४४औँ वार्षिकोत्सव तथा कर्मचारी पुनर्मिलन समारोह सम्पन्न गरेको छ।
प्रतिष्ठानले स्थापना कालदेखि नै प्रशिक्षण, अनुसन्धान तथा परामर्श सेवामार्फत सार्वजनिक क्षेत्रको क्षमता विकास तथा सार्वजनिक सेवा प्रवाहको स्तरोन्नतिमा योगदान पुर्याउँदै आएको छ। विभिन्न आरोह–अवरोह पार गर्दै ४४ वर्षको यात्रा पूरा गरेको अवसरमा आयोजित समारोहमा प्रतिष्ठानका वर्तमान तथा पूर्व कर्मचारी, सरकारी निकायका उच्च पदाधिकारी, शिक्षाविद्, विकास साझेदार, विभिन्न संस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।
समारोहको अध्यक्षता प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक श्री बसन्तराज सिग्देलले गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवम् नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान प्रशिक्षण परिषद्का सदस्य डा. गुणाकर भट्ट प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एवम् प्रशिक्षण परिषद्का सदस्य श्री मदन भुजेल, पूर्व मुख्य सचिव, प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक तथा पूर्व कर्मचारी, विभिन्न संस्था तथा विकास साझेदारका प्रतिनिधि, सञ्चारकर्मी तथा प्रतिष्ठानका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
वरिस्ठ अध्ययन निर्देशक श्री तुलसीशरण सिग्देलले स्वागत मन्तव्य राख्दै प्रतिष्ठानले गत एक वर्षमा सञ्चालन गरेका प्रमुख गतिविधि तथा उपलब्धिहरूबारे जानकारी गराउनुभयो। उहाँले आगामी दिनमा प्रतिष्ठानले लिनुपर्ने रणनीतिक दिशा तथा सार्वजनिक क्षेत्रको बदलिँदो आवश्यकता अनुरूप संस्थागत क्षमता सुदृढ गर्दै अघि बढ्नुपर्ने विषयमा जोड दिनुभयो।
त्यसैगरि प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक डा. राजन खनाललाई समेत सम्मान तथा अभिनन्दन गरिएको थियो। डा. खनालले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई थप विस्तार गरी काभ्रेमा पनि पूर्वाधार विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। बढ्दो प्रशिक्षण आवश्यकता र ठूलो संख्यामा सार्वजनिक क्षेत्रका कर्मचारीलाई प्रभावकारी रूपमा प्रशिक्षण प्रदान गर्न सकिने गरी प्रतिष्ठानको भौतिक तथा संस्थागत क्षमता विस्तार गर्नुपर्ने उहाँको धारणा थियो। उहाँले सक्षम तथा प्रभावकारी निजामती प्रशासन निर्माणका लागि प्रतिष्ठानको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले विश्वविद्यालय र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच सहकार्यलाई थप सुदृढ गर्नुपर्ने बताउनुभयो। उहाँले अनुसन्धान, अध्ययन तथा विभिन्न शैक्षिक तथा व्यावसायिक कार्यक्रमका क्षेत्रमा विश्वविद्यालय र प्रतिष्ठानले सहकार्य गर्दै सार्वजनिक क्षेत्रको ज्ञान तथा क्षमता विकासमा योगदान गर्न सक्ने उल्लेख गर्नुभयो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एवम् प्रशिक्षण परिषद्का सदस्य श्री मदन भुजेलले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई नेपाल सरकारका कर्मचारीहरूको क्षमता विकास गर्ने महत्वपूर्ण साझेदारका रूपमा चित्रण गर्नुभयो। सार्वजनिक प्रशासनलाई सक्षम, उत्तरदायी र प्रभावकारी बनाउन कर्मचारीको निरन्तर क्षमता विकास आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यस कार्यमा प्रतिष्ठानको भूमिकालाई महत्वपूर्ण रहेको बताउनुभयो।
समारोहका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवम् प्रशिक्षण परिषद्का सदस्य डा. गुणाकर भट्टले प्रतिष्ठानको संस्थागत सुदृढीकरणमा सबै सरोकारवालाको साझा जिम्मेवारी रहने बताउनुभयो। उहाँले, “हामीले यो संस्थालाई हेर्नुपर्छ, ताकि यसले पनि हामीलाई हेर्न सकोस्,” भन्ने भाव व्यक्त गर्दै प्रतिष्ठानलाई अझ सक्षम, प्रभावकारी र समयानुकूल संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।
समारोहका अध्यक्ष तथा प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक श्री बसन्तराज सिग्देलले वार्षिकोत्सवका अवसरमा उपस्थित सम्पूर्ण अतिथि, पूर्व कर्मचारी, कर्मचारी तथा सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो। उहाँले प्रतिष्ठानले चार दशकभन्दा लामो अवधिमा विकास गरेको संस्थागत संस्कृति, मूल्य र कार्यप्रणालीबारे चर्चा गर्दै ती अभ्यासहरू क्रमशः संस्थागत हुँदै गएको बताउनुभयो।उहाँले बदलिँदो सार्वजनिक प्रशासन र शासन व्यवस्थाको आवश्यकतालाई सम्बोधन गर्न नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई School of Governance को अवधारणातर्फ विकसित गर्ने दिशामा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो। सार्वजनिक क्षेत्रका नेतृत्व, नीति, व्यवस्थापन तथा शासनसम्बन्धी ज्ञान र सीप विकासका लागि प्रतिष्ठानलाई अझ सशक्त ज्ञान तथा क्षमता विकास संस्थाका रूपमा विकास गर्ने विषयमा उहाँले जोड दिनुभयो।
४४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमले प्रतिष्ठानको चार दशकभन्दा लामो संस्थागत यात्रालाई स्मरण गर्नुका साथै आगामी दिनमा सार्वजनिक प्रशासनको क्षमता विकास, अनुसन्धान, परामर्श तथा ज्ञान निर्माणमा प्रतिष्ठानले निर्वाह गर्नुपर्ने भूमिकाबारे समेत विमर्श गर्ने अवसर प्रदान गरेको थियो।
वार्षिकोत्सव समारोहका अवसरमा प्रतिष्ठानमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो। प्राध्यापनतर्फ रोशनी भुजेल र सरोजा शाक्य तथा प्रशासनतर्फ आशुतोष न्यौपानेलाई उत्कृष्ट कर्मचारीका रूपमा घोषणा गरिएको थियो। त्यसैगरी कार्यालय सहयोगीतर्फ कुमार थापालाई यस वर्षको सर्वोत्कृष्ट कर्मचारीघोषणा गरिएको थियो। समारोहमा प्रतिष्ठानका वर्तमान तथा पूर्व कर्मचारीबीच पुनर्मिलन तथा अनुभव आदानप्रदानसमेत गरिएको थियो। वार्षिकोत्सव तथा कर्मचारी पुनर्मिलन समारोहले प्रतिष्ठानको संस्थागत स्मृति, वर्तमान कार्यदिशा र भावी यात्राबीचको सम्बन्धलाई थप सुदृढ गर्ने अवसर प्रदान गरेको छ।
औपचारिक कार्यक्रम पश्चात् सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो। सांस्कृतिक कार्यक्रममा प्रतिष्ठानका कर्मचारी तथा परिवारका सदस्यहरूको सहभागितामा विभिन्न प्रस्तुति प्रस्तुत गरिएको थियो।