ललितपुर, पुष १६ २०८२ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले नेपाल सरकारका राजपत्रांकित द्वितीय श्रेणीका प्रशिक्षार्थि अधिकृतहरुका लागि निर्धारण गरेको Advanced Course on Management and Development तालिमका लागि निर्धारित “Know Your Economy" मोड्युलमा आधारित रही "नेपालको राष्ट्रिय विकासमा विप्रेषणले पुर्याएको आर्थिक योगदान " विषयक एक दिवसीय गोष्ठी मिति २०८२/०९/१६ गते बुधबारका दिन दिनको १ बजेदेखि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको अरनिको हलमा सुसम्पन्न भयो ।
गोष्ठीमा सहभागी सम्पूर्ण अथितिहरुलाई आयोजकको तर्फबाट प्रशिक्षार्थी अधिकृत सोमनाथ सुवेदीले स्वागत गर्नुभएको थियो।राजकुमार के.सी. को अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता अर्थशास्त्री उत्तम पौडेलले गर्नुभएको थियो साथै प्रतिष्ठानका निर्देशकहरु र ACMD-३ का तालिम संयोजकको आतिथ्यता र सम्पूर्ण प्रशिक्षार्थी अधिकृतहरुको समेत सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा “नेपालको राष्ट्रिय विकासमा विप्रेषणले परेको आर्थिक योगदान” विषयमा शंकर सिंह धामी र यदुनाथ आचार्यले संयुक्त रुपमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। प्रस्तुतिमा नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार हाल विप्रेषणले नेपालको कुल गार्हस्थ उत्पादन (GDP) को करिब एक चौथाइभन्दा बढी हिस्सा ओगटेको साथै विदेशी मुद्रा सञ्चिति, गरिबी न्यूनीकरण, वित्तीय स्थायित्व, आयात र ऋण भुक्तानी क्षमता बृद्धि तथा भुक्तानी सन्तुलन सकारात्मक राख्न पुऱ्याएको योगदानबारे विस्तृत रूपमा प्रकाश पारिएको थियो । साथै विप्रेषण आप्रवाहले समष्टिगत अर्थतन्त्र र पारिवारिक आर्थिक अवस्थामा परेको प्रभावको बारे समेत प्रकाश परिएको थियो। विप्रेषणले राष्ट्रीय, प्रादेशिक र स्थानीय रुपमा पारेको प्रभावको विश्लेषण गरिएको थियो । विप्रेषणको अति निर्भरताले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्ने, मूल्य स्थितिमा चाप पर्ने, अनावश्यक आयात बृद्धि हुने र मूल्य वृद्धि हुने समेतका नकारात्मक प्रभावहरु औंल्याइएको थियो। साथै आर्थिक अस्थिरताका समयमा पनि नेपाली अर्थतन्त्रलाई स्थिर राख्ने प्रमुख आधारका रुपमा विप्रेषण रहेको छ भन्ने विषय कार्यपत्रमा उल्लेख गरिएको थियो । प्रस्तुतिमा विप्रेषणले ग्रामीण अर्थतन्त्र मजबुत बनाएको भए पनि यसको ठूलो हिस्सा उपभोगमुखी क्षेत्रमा खर्च भइरहेको भन्दै उत्पादनमूलक क्षेत्रमा विप्रेषण प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
प्रस्तुति पश्चात टिप्पणीकार हरि प्रसाद भण्डारीले प्रस्तुत सामग्रीमाथि समिक्षात्मक प्रतिक्रिया दिँदै विप्रेषणलाई कृषि, साना तथा मझौला उद्योग, ऊर्जा र उद्यमशीलतामा केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो। उहाँले नीतिगत सुधार र वित्तीय साक्षरताको महत्वमा पनि जोड दिनुभयो ।
त्यसपछि सहभागीहरूबीच अन्तरक्रियात्मक सत्र सञ्चालन गरिएको थियो । खुला छलफलका क्रममा सहभागीहरूले वैदेशिक रोजगारीको गुणस्तर, सीपमूलक जनशक्ति विकास र फर्किएका श्रमिकहरूको पुनःएकीकरण/सामाजिकिकरण बारे प्रश्न तथा सुझाव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि अर्थशास्त्री डा. उत्तम पौडेलले रेमिट्यान्सलाई दीर्घकालीन विकाससँग जोड्ने रणनीतिबारे धारणा राख्नुभयो। उहाँले रेमिट्यान्सलाई दिगो आर्थिक रूपान्तरणको आधार बनाउन सरकारी र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
कार्यपत्र समापन सत्रमा कार्यक्रमका अध्यक्ष राजकुमार के.सी.ले छलफलबाट प्राप्त मुख्य निष्कर्षहरू समेटदै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा कार्यक्रममा सहभागी प्रमुख अतिथि, अतिथि लगायत सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समपन्न भएको घोषणा गर्नुभएको थियो।





